अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु

By | August 4, 2021

काठमाडौँ । अमेरिकाको विसकन्सिन राज्यस्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ ।

काठमाडौँको दक्षिणकाली ४ बासवारि स्थायी घर भएका २२ वर्षीय सृजन कुँवरको जुलाई २८ तारिख बुधवार मृत्यु भएको गैर आवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाले जनाएको छ ।

काममा रहेको समयमा सृजन अचानक बेहोस भएपछि उपचारका लागि नजिकैको बिएभर दम अस्पतालमा लगिएको थियो । आकस्मिक कक्षमा भर्ना गरिएका कुँवरलाई अस्पतालले थप परीक्षण र उपचारका लागि भन्दै अर्को यूडब्लु म्याडेसन अस्पताल रेफर गरेको थियो ।

यूडब्लु म्याडेसन अस्पतालमा पनि उपचार सम्भव नभएपछि कुँवरलाई अस्पतालले मृत घोषणा गरेको एनआरएनए अमेरिकाले जनाएको छ । डी भी लोटरीबाट दुई वर्ष अघि अमेरिका गएका कुँवरको निधनप्रति एनआरएनए अमेरिकाले दुःख व्यक्त गरेको छ ।

अहिले कुँवरको शव अस्पतालमा नै रहेको र कुँवरका बुवा कृष्णहरि कुँवरले शव नेपाल पठाइदिन एनआरएनए अमेरिका विसकन्सिन च्याप्टरलाई सहयोगको अनुरोध गरेका छन् ।

परिवारको अनुरोध अनुसार गैर आवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्याण्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, विसकन्सिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागेको एनआरएनए अमेरिकाले जानकारी दिएको छ ।

यस्तै न्युयोर्कमा बस्ने २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो । एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *